Home Health Update१६ घण्टे उपवास र यसका फाइदा | सुधाश्री अधिकारी

१६ घण्टे उपवास र यसका फाइदा | सुधाश्री अधिकारी

by Guest Author
3.2K views

अव्यवस्थित खानपान र अस्तव्यस्त जीवनशैली नै २१ औँ शताब्दीका दीर्घरोगहरुको जड हो। 

हामीहरू हाम्रो मौलिक र रैथाने खान्की र खानपानलाई त्याग्दै पश्चिमा खान्कीलाई प्राथमिकता दिदैँ गइरहेका छौँ‚ जसले गर्दा अहिलेको अवस्थामा विश्वव्यापी रुपमा मोटोपन, मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता अनेक प्रकारका रोगहरू मानिसमा बढ्दै गएको छ। विश्वव्यापी रूपमा हेर्ने हो भने पनि प्रत्येक वर्ष यस्ता रोगहरूको वृद्धिदर ५७% सम्म पुग्ने विभिन्न तथ्यांकहरूले देखाएका छन्।

यस्ता किसिमका सबै रोगबाट मुक्त हुने एकमात्र उपाय भनेको उपवास र पोषणयूक्त खाना हुन सक्ने विभिन्न अनुसन्धानले देखाएको छ। मुख्यतया उपवासका ६ वटा विधि हुन्छन्‚ जसमध्ये १६ घण्टे उपवास एक सहज र सजिलो विधी हो। उपवास अर्थात् १६ घण्टे उपवास, यही नै हाम्रो लागि सबभन्दा उत्तम विकल्प हो‚ जुन सजिलो पनि छ। यसले शारीरमा जम्मा भएर बसेका सबै फोहोरलाई सफा गर्ने काम गर्छ।

जसरी हामीले घरमा भएका औजार, पाइपहरू सफा नगरी राख्दा बिग्रन्छन्‚ त्यसैगरी हाम्रो शरीरका प्रणालीहरू पनि सफा गर्नु आवश्यक हुन्छ। यदि सफा नगरेमा यसमा पनि फोहोर जम्मा हुँदै जान्छ र अनेक रोगहरुको कारक बन्न सक्छ। घरका सामानको हेरचाह गर्न ध्यान दिने हामी आफ्नो शारीरप्रति कति जानकार छौँ त? विभिन्न अध्ययनअनुसार शरीरको उत्तम सफाइको तरिका हो १६ घण्टे उपवास।

१६ घण्टे उपवास भन्नाले बेलुकी खाना खाएको समयबाट बिहान खाना खाने समयबीचको १६ घण्टा अवधिको व्रत हो। यो उपवासमा साँझ ६ बजे खाना खाएपछि अर्को दिन बिहान १० बजेसम्म केही पनि खानेकुरा खाने गरिँदैन। यदि हामीलाई बिहान उठेर केही खाने बानी छ वा नखाँदा असहज लाग्छ भने १६ घण्टे उपवासको अवधिमा पानी, चिनी नहालेको कालो चिया वा स्वस्थ र ताजा तरकारीको जुस खान सकिन्छ।

१६ घण्टे उपवासले के-के गर्छ त?
हाम्रो शरीरभित्रका ग्रन्थीहरुले २ प्रकारका काम गर्छन्। एउटा हामीले खाएको खानालाई पचाउने र चाहिने अंगहरुमा पोषक तत्वहरू पुर्‍याउने र अर्को हाम्रो शारीरभित्र भएका फोहोर र मरेका तन्तुहरुको सफाइ गर्ने। हामीहरूमध्ये कतिपयले दिनमा कयौँ पटक खानेकुरा‚ अझ पोषणबिनाका खाना (जस्तैः प्रशोधन गरिएका खाना, प्याकेजिङ गरिएका खानाहरू) खाइरहेका हुन्छौँ। यसले गर्दा एकातिर हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरूको कमी हुँदै गइरहको हुन्छ भने अर्कोतर्फ हाम्रो शरीरले आफूभित्र रहेका नचाहिने तत्त्वको सफाइ गर्ने समय पाइरहेको हुँदैन र हाम्रो शरीर आन्तरिक रूपमा फोहोरहरूको थुप्रोमा परिणत हुन पुग्छ।

परिणामस्वरुप, हाम्रो शरीर विभिन्न किसिमका दीर्घ रोगहरूको शिकार बन्न पुग्दछ। १६ घण्टे उपवासले गर्दा हाम्रो शारीरले आन्तरिक सफाइ (डेटोक्सिफाई) गर्ने समय पाउँछ। यदि हामीहरुले बेलुकीको खानामा सजिलै पच्ने खाना खायौँ भने यस्तो खाना करिब ६-८ घण्टामा पाचन भइसक्ने छ र बाँकी रहेको ८-१० घण्टा हाम्रो शरीर आफूभित्रैको सफाइमा लाग्न पाउँछ। जसले गर्दा हाम्रो शारीरभित्र जमेका फोहोरहरु बाहिर निस्कन्छन् र अनेक किसिमका दीर्घरोगहरूबाट बच्न सकिन्छ।

१६ घण्टे उपवास क-कसका लागि उपयुक्त छ त?
१६ घण्टे उपवास सुत्केरी महिला, दूध खुवाउँदै गरेका महिला, १६ वर्षमुनिका बालबच्चा र खेलाडीबाहेक सबैका लागि उपयुक्त छ। १६ घण्टे उपवास तोड्ने समयमा ताजा मौसमी फलफूल र काँचो सलाद खाँदा यो अझ प्रभावकारी हुन्छ। दीर्घरोगहरूबाट ग्रसित व्यक्तिहरूका लागि १६ घण्टे उपवास रोगमुक्तिको एक अचुक उपाय बन्न सक्छ। अनेक प्रकारका रोगहरुबाट मुक्त हुन र वर्षौँदेखि सताइरहेको रोगबाट मुक्त हुनका लागि १६ घण्टे उपवास सँगसँगै आफ्नो खानपान, आनीबानी र विचार बदल्न सक्यौँ भने निरोगी भएर दीर्घजीवन बाच्न सकिन्छ।

स्वस्थ जिवनशैलीका लागि ‘डाइट प्लान’
– बिहान ९ बजे – ‘डेटक्स ड्रिंक्स’ कुभिन्डाको रस वा नरिवल पानी वा कुनै ताजा तरकारीको रस (जुस)
– बिहान ११ बजे – नास्तामा कुनै मौसमी फलफूल
– दिउसो २ बजे – खानामा ब्राउन राइस वा रोटी, अथवा कुनै पनि प्रशोधन नगरिएका अन्न‚ जसमा ३ भागमा १ भाग अन्न र २ भाग तरकारी र सलाद
– साँझ ६ बजे – रातीको खानामा सजिलै पाचन हुने खाना, जस्तै: टुसा उमारेको मुंगको दालको सलाद वा कुनै मौसमी तरकारीहरुको सूप

यसप्रकारको खानपानले तपाईंको १६ घण् को उपवास पनि पूर्ण हुन्छ र बिहानको डेटक्स ड्रिंक्सले शरीरको सफाइ गर्न मद्दत गर्छ।

[पोषण विज्ञानमा विद्यावारिधी गर्नुभएकी सुधाश्री अधिकारी हाल सात्विक न्यूट्रिफूडमा आबद्ध हुनुहुन्छ]

Get real time update about this post category directly on your device, subscribe now.

You may also like

Nepal Health Magazine